अप्रवासी नेपाली डा. दुर्गादत्त कंडेललाई अष्ट्रेलियन सम्मान
कृष्ण तिवारी
सिड्नी (अष्ट्रेलिया), फाल्गुन १६ – अष्ट्रेलियन फेडलर सरकार अन्तर्गत मरे डार्लिङ बेसिन अथोरिटीको जलस्रोत तथा नदी व्यवस्थापनमा जलविज्ञान विज्ञका रूपमा कार्यरत अप्रवासी नेपाली डा. दुर्गादत्त कंडेललाई अष्ट्रेलियन सरकारले “सिग्नीफिकेन्ट अचिभमेन्ट २०१२” बाट सम्मानित गरेको छ ।
अष्ट्रेलियाका २५ औं प्रधानमन्त्री जोन होवार्टका पालामा त्यस क्षेत्रका किसानहरूले जलस्रोतको प्रकृतिले धान्ने भन्दा बढी पानी उपभोग गरेकाले खोलामा पानीको मात्रा सुक्दै गएपछि वातावरणीय क्षेत्रमा समेत प्रतिकूल असर परेकाले चिन्ता व्यक्त गरिएको थियो । होर्वाडकैं पालामा अष्ट्रेलियामा पानी ऐन-२००७ ल्याएपछि वातावरणीय स्वास्थ्य खस्किँदै गएको खोलामा पानीको मात्रा कसरी बढाउन सकिन्छ भन्ने योजना तर्जुमा गर्ने कार्यमा डा. कंडेलको अध्ययनले सहयोग पुर्याएको थियो ।
कुन राज्यमा वर्षभरि कति मात्रामा पानी प्रयोग गर्न पाउँछन् भन्ने लेखाजोखा र पानीको न्यायोचित तथा वैज्ञानिक वितरण पनि यही निकायले गर्ने गर्दछ ।
ईकान्तिपुरसँगको कुराकानीमा कंडेल भन्छन्- “मेरो काम आकासको पानी ड्याममा कति पुग्छ, कति उडेर जान्छ, एउटा विन्दुबाट अर्को विन्दुसम्म आइपुग्दा नदीमा कति मिसिन्छ, ड्याममा कति पानी बाँकी छ, भनी मिहिन अध्यययन निकाल्नु हो ।”
साथै बाँकी रहेको पानी वर्षमा कति पानी थपिने अनुमान छ, नदीमा पानीको वाहव बढेको छ वा घटेको छ, यी सबैको सुक्ष्म अध्ययन पश्चात मात्र वर्षभरिको पानी उपभोगको योजना बनाइन्छ । जसका आधारमा कुन राज्यले र राज्य मार्फत त्यस क्षेत्रका बासिन्दाले वर्षमा कतिसम्म पानी प्रयोग गर्न पाउँछन् भन्ने तथ्याङ्क निकालिन्छ । उनका अनुसार यी सबै कार्य जलविज्ञान सम्बन्धी कम्प्युटर मोडलिङको आधारमा निकालिन्छ ।
सो सम्मानबाट आफूलाई यस क्षेत्रमा अझैं बढी काम गर्ने हौसला मिलेको कंडेल बताउँछन् । अष्ट्रेलियन फेडलर सरकार अन्तर्गत यस विधाको सो उच्चपदमा कार्यरत उनी एक मात्र अप्रवासी नेपाली हुन् । साथै उनको यो उच्च सम्मानले नेपाली समुदायमा खुसियाली छाएको छ ।
मरे डालिङ बेसिनले क्विन्सल्याण्ड, न्यू साउथ वेल्स, अष्ट्रेलियन क्यापिटल टेरिटोरी, भिक्टोरिया र साउथ अष्ट्रेलियागरि चार राज्य तथा एक क्षेत्रको भूभागलाई समेटेको छ । सो बेसिनको लम्वाई करिब एक मिलियन वर्ग किलोमिटर अर्थात १४ प्रतिशत अष्ट्रेलियन भूभागसम्म फैलिएको छ । मरे डार्लिङ बेसिनको पानी किसानले प्रयोग गरी अष्ट्रेलियाको कृषि उत्पादनको झण्डैं एक तिहाई हिस्सा ओगटेका छन् ।
नेपालको बागलुङ जिल्लामा जन्मेका कंडेलको परिवार उनी तीन वर्षको हुँदा चितवन सरेको थियो । चितवनकैं प्रेमबस्ती माविबाट २०३९ सालमा प्रथम श्रेणीमा प्रवेशिका पास गरेका उनी अध्ययनमा निकै अब्बल मानिन्थ्ये । आइएस्सी अमृत साइन्स क्याम्पसबाट सकी यूएसएआइडीको छात्रवृत्तिमा एक्ग्रिकल्चर इन्जिनियरिङमा ब्याचलर्स डिग्री गर्न भारत गए । सन् १९९२ मा सो अध्ययन सकेपछि उनी चितवनको रामपुर कृषि क्याम्पसमा करिब साढे दुई वर्ष माटो तथा पानी संरक्षण र सिंचाइ सम्बन्धि विषयमा अध्यापन पनि गराए ।
सन् १९९४ को अन्त्यतिर लोकसेवा आयोगमा नाम निकालेपछि बबरमहलस्थित माटो तथा पानी संरक्षण विभागमा अधिकृत पदमा साढे चार वर्ष काम गरे । करिब चार महिना इजरायलमा ‘डि्रप एण्ड स्प्रिङकल’ विषयमा अध्ययन गर्न पुगेका कंडेलले नेपालको जागिरे अवधिमा इसिमोडमा समेत काम गरेका थिए । सो अवधिमा नेपालमा पाल्पा, डोटी, काभ्रे, दोलखा लगायतका गाउँमा समेत आफ्नो शिप प्रयोग गर्न गरे ।
सन् १९९९ मा आफ्नैं व्यक्तिगत प्रयासबाट विश्व बैकको छात्रवृत्तिमा मेलवर्न विश्वविद्यालयमा मास्टर्स अफ इन्जिनियरिङ गर्न अष्ट्रेलिया आइपुगे । लगत्तैं त्यही अध्ययनलाई निरन्तरता दिँदै मेलवर्न विश्वविद्यालय र अष्ट्रेलियन सरकारको छात्रवृतिमा सन् २००३ मा जलविज्ञान तथा जलस्रोत व्यवस्थापनमा पिएचडी हासिल गरे ।
आफ्नो पिएचडी सके लगत्तैं सोही विश्वविद्यालयमा रिसर्च फेलोको रूपमा झण्डैं दुई वर्ष काम गरेपछि सन् २००५ देखि उनी मरे डार्लिङ बेसिन अथोरिटीमा जलविज्ञान विज्ञका रुपमा कार्यरत छन् । From ekantipur.com