कसको चाड हो जनै पूर्णिमा ?

नारायण गाउँले
ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमा सनातनधर्मी समाजको एउटा महत्त्वपूर्ण पर्व हो । मूलत: कृषिमा आधारित समाजको आजका दिनदेखि करिब तीन महिना किसानी कामबाट फुर्सत हुन्छ र यही फुर्सतलाई उत्सवमा बदल्ने कामको सुरुवात आजकै दिनबाट हुन्छ । तीज, दशैं र तिहारजस्ता धार्मिक-सामाजिक उत्सवसम्म यो फैलिन्छ ।
जनैपूर्णिमाको हाम्रो जीवनपद्धतिमा खासगरी तीनवटा महत्त्व छ:
१-व्रतबन्धमा बसेकाहरूले ब्राह्मणबाट मन्त्रित जनै अर्थात् यज्ञोपवीत नवीकरण गर्ने काम
२-ऋषिहरूलाई संस्मरण गर्दै कृतज्ञ बन्ने काम
३-ब्राह्मण, दिदीबहिनीबाट आशीर्वादसहित रक्षाबन्धन बाँध्ने काम
यहाँ ब्राह्मण शब्दले धेरैलाई जातविशेषको भ्रम हुनसक्छ । वस्तुत: ब्राह्मण या शूद्र भन्ने कुनै जात नभएर यो एउटा मानवको व्यक्तित्व विकासको चरण हो । प्रक्रिया हो । ब्राह्मण एउटा पदवी हो, मान्छेको भौतिक-आध्यात्मिक विकासको उच्चतम सम्भाव्यता हो ।
जन्मना जायते शूद्र: संस्कारात् द्विज उच्यते
वेदपाठात् भवेत् विप्र:, ब्रह्मं जानाति ब्राह्मण:
-स्कन्दपुराण
जन्मँदा मान्छे शूद्र (पशुवत्) हुन्छ । उसको नामकरणदेखि ब्रतबन्ध लगायतका संस्कार सम्पन्न भएपछि द्विज अर्थात् दोस्रो पटक जन्म हुन्छ । वेदको पठनपछि ऊ विप्रको अवस्थामा पुग्दछ । र, वेद आदि शास्त्रशिक्षाभन्दा माथि उठेर आत्मज्ञानले स्वयंप्रकाशित (self-enlightened) भएपछि त्यही मान्छे ब्राह्मण बन्दछ । ब्राह्मण जन्मसिद्ध पदवी नभएर कर्मसिद्ध उपलब्धि हो । ब्राह्मणसँग समानार्थी पदवीहरूको अस्तित्व आजपनि थुप्रै जातिहरूमा देख्नसकिन्छ । तर, मध्युगमा गैरसनातनधर्मीहरूबाट भएको आक्रमण र आधिपत्यपछि विस्तारै यस परम्परामा थुप्रै विकृतिहरू थपिँदै गएर यो रूढ बन्न पुगेको देखिन्छ । फलत: विकृतिस्वरूप नै समग्र वेदपठन नगरीकनै म ‘ब्राह्मण’ भनिएको छु र एउटा जातका रूपमा बुझिएको छु । सनातन संस्कृतिमा जातको अस्तित्व छैन । ज्ञान र संस्कारको तहका आधारमा व्यक्तिको गणना हुने संस्कृतिमा स्थायी जातको कुनै औचित्य थिएन । उक्त पदवी आनुवंशिक नभई व्यक्तिमा सीमित थियो । यसको आनुवंशिक विस्तार गर्ने विकृतिको फल नै आजको जात-व्यवस्था हो ।
व्रतबन्धको प्रतीक जनै
जनै व्रतबन्धको एउटा प्रतीक हो । जीवनलाई शूद्रताको अवस्थाबाट माथि उठाएर लोककल्याणकारी र मुक्तिपथतिर डोर्‍याउन व्रत अर्थात् नियममा बाँधिनेहरूले प्रतीकका रूपमा जनै धारण गर्दछन् र आजकै दिन यसको नवीकरण हुन्छ । व्रत अर्थात् नियम-संयम अनि बन्ध अर्थात् त्यसमा बाँधिनु । शान्त, समुन्नत र स्वस्थ जीवन जिउनका लागि वेदपठन र तत्त्वज्ञान जरुरी थियो र यस्तो कठीन कार्यका लागि दृढ सङ्कल्प अनि प्रतिबद्धताको खाँचो पर्दथ्यो । उचित समयमा आफन्त, इष्टमित्र, गुरु, ब्राह्मण, मावलीहरूलाई भेला गराएर बच्चालाई वेदपठन (शिक्षा) का लागि व्रतमा बन्धित गर्ने परम्परा थियो । यसपछि उसलाई गुरुकुलमा लगेर वेद-पठन गराइन्थ्यो र ब्राह्मण बन्ने प्रक्रियातिर ऊ उन्मुख हुन्थ्यो ! वेद भन्नाले कसैले धर्मका केही ठेली भन्ने अर्थ लगाउँछन् तर, वेद सर्वाङ्गीण शिक्षाको नाम हो । चारवटा मूल वेदसहित आयुर्वेद (स्वास्थ्य शिक्षा), धनुर्वेद (युद्धकौशल) गन्धर्ववेद (नाचगानसम्बन्धी कला) जस्ता थुप्रै वेद (शिक्षाका विधा) हरूको अध्ययन गुरुकुलमा हुन्थ्यो ।
जनैमा तीनवटा शिखा हुन्छन् र यो नौवटा तन्तुहरूले बनेको हुन्छ । ती सबैको प्रतीकात्मक अर्थ छ । तीनवटा शिखाहरूले सृष्टिको बीजमन्त्र अर्थात् ॐ (अ-उ-म्) को प्रतिनिधित्व गर्दछन् । ब्रह्मा-विष्णु-महेश्वर यिनका प्रतीकात्मक देवता हुन् । जसले सृष्टि-स्थिति-प्रलयको सङ्केत गर्छन् । यही तीनवटा अवस्थालाई त्रिपदा गायत्रीमन्त्रले प्रतिनिधित्व गर्दछ । एटम र त्यसको इलक्ट्रन, प्रोतन र न्युट्रनले जसरी सृष्टिको मूल बुझ्न मद्दत गर्दछन्, ॐले पनि त्यही गर्दछ । जनैमा रहने नौ तन्तुले नव-गुणको सङ्केत गर्दछन् र धारकलाई सदैव ती गुणहरूको जीवनमा विकास गर्न प्रतिबद्ध बनाउँछन्।
शम (शांतिप्रियता), दम (आत्मसंयम), तप (तपस्या), शौच (पवित्रता), क्षान्ति (सहिष्णुता), आर्जव (सत्यनिष्ठा), ज्ञान, विज्ञान एवं आस्तिकता (धार्मिकता) यी नवगुणहरू जीवनको कल्याणकारी विकासका लागि आवश्यक मानिएका छन् । यी गुणको विकासतिर ध्यान नदिनेहरूले जनै लगाउनुको खासै अर्थ छैन । जसरी एउटा कम्युनिष्ट पार्टीको सदस्यले घरको भित्तोदेखि छतसम्म मार्क्स-माओको फोटो, झण्डा झुन्ड्याएर आफूलाई त्यही दिशातिर अघि बढाउने सोच राख्दछ, त्यसरी नै व्रतबन्धित विप्रले जनै धारण गरेर आफू सङ्कल्पित रहेको अनुभव गर्दछ । यो प्रतीक हो । समग्र ज्ञान हासिल गरिसकेपछि र सन्यासको अवस्थामा पुगेपछि सबैले जनैको त्याग गर्ने शास्त्रीय विधान छ । मृत्यु भएपछि पनि जनै काटेर व्रतहरूको बन्धन सकिएको सङ्केत गरिन्छ ।
तीनथरी ऋण
मानिसमाथि तीनथरी ऋण हुन्छन् । देवऋण अर्थात् मानवजीवनमा महत्त्व राख्ने समग्र प्रकृतिमाथिको ऋण, ऋषिऋण अर्थात् जीवनमा संस्कार र शिक्षा प्रदान गर्ने ऋषि, गुरु, महात्माहरूप्रतिको ऋण र जन्मदेखि, लालनपोषण र व्रतबन्ध गरिदिने आमाबुबाको ऋण । हामीले यी सबैबाट जीवनमा धेरै लिएका छौं र त्यो ऋण तिर्नु मानवको कर्तव्य हो । आजको दिन खासगरी मानवसभ्यताको विकासमा योगदान दिएका समग्र ऋषिहरूलाई सम्मान र संस्मरण गर्दै आफूले व्रतबन्धको कति पालना गरें र ऋषिऋण चुक्ता गर्ने दिशामा कति अघि बढें भनेर आत्मालोचना गर्ने दिन पनि हो । त्यसैले यसलाई ऋषितर्पणी पनि भनिन्छ । आफूले हासिल गरेको शिक्षाको समाजको सकारात्मक परिवर्तनमा कति योगदान रह्यो भनेर आजको दिन समीक्षा गर्नु जरुरी छ र अझ प्रतिबद्ध भएर त्यसदिशामा लाग्नु जरुरी छ । यो वैदिक सनातन संस्कृतिको ‘एजुकेसन डे’ जस्तै हो ।
जीवनजगत्मा नारी शक्तिको महत्त्व र स्थान सर्वोच्च छ भन्ने संस्मरण पनि आजको दिन (गायत्रीजप- दिदीबहिनीको हातबाट रक्षासूत्र) ले गराउँदछ !
यसरी मूलरूपमा जीवनलाई संस्कारित गर्ने प्रक्रियाको वार्षिक नवीकरण गर्ने र जीवनोपयोगी र लोककल्याणकारी शिक्षा दिने ऋषिहरूप्रति कृतज्ञता ज्ञापन गर्ने दिनका रूपमा यो समग्र सनातनधर्मीहरूको साझा चाड हो ।

nepalimanchadmin

0 Reviews

Write a Review

सम्बन्धित समाचार

Leave a Reply

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ